काठमाण्डौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आज पठाएको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर आएको छ । तर डिजेलको मूल्य भने २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ । आईओसीले निगमलाई हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामै रहेको छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई अझै नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब एक अर्ब नाफामा रहेको छ ।
नेपाल आयल निगमले आजैदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने तयारी गरेको छ । निगम उच्च स्रोतका अनुसार निगम सञ्चालक समितिको बैठक बसेर उक्त बैठकले स्वचालित मूल्य लागू गर्दैछ । बैठक साँझ बस्ने भएको छ । स्वचालित मूल्य लागू गर्ने तयारी भने केही समयअघिदेखि नै भइसकेको स्रोतले बताएको छ ।
पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ। यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने गरी स्वचालित मूल्य लागू हुने बताइएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागू गर्न लागिएको हो।