काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारको अन्तिम नामावली हिजै सार्वजनिक गरेर विद्युतीय मेसिनमा उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ। निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युतीय मेसिनमार्फत हुनेछ।
२४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदै छ। खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् ।
महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईको उम्मेदवारी परेको छ। महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् । उपमहासचिवमा अमर बहादुर शाही कमल जोशी र प्रेमिका शाही उम्मेदवार छन्। सचिवमा रक्षा बम, मनोज राई, अनुप लामिछाने,रोहित बम, स्मृती बराल, रेखा न्यौपाने,मदन भण्डारी, आकाश अधिकारी लगायत ३५ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । करिब १,५४३ प्रतिनिधिले मतदान गर्नेछन् । पहिलोपटक ३२ वर्ष उमेरहद लागू गरेर निर्वाचन हुन लागेको हो।