काठमाण्डौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादलाई नागरिक दैनिकले "धम्कीपूर्ण" रूपमा चित्रण गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै त्यसप्रति आश्चर्य व्यक्त गरेकी छिन् ।
मन्त्री देउवाले बताएकी छिन् कि नागरिक दैनिकले प्रकाशित गरेको समाचार सत्यताबाट धेरै टाढा रहेको छ र उक्त संवाद धम्कीपूर्ण नभएर एक जिम्मेवार संवाद थियो। "हाम्रो परिवारप्रति दुर्भावनायुक्त आशयसहित सामाजिक सञ्जालमा फैलाइएको एक भ्रामक तथा तथ्यहीन भिडियोबारे जानकारी गराउने प्रयोजनले मात्र मैले ज्ञवालीजीसँग कुराकानी गरेकी थिएँ," मन्त्री देउवा आफ्नो फेसबुकमा उल्लेख गरिकिछन ।
उक्त भिडियो अपलोड गर्ने संस्थाको वैधानिक स्थिति अस्पष्ट रहेकाले प्रेस काउन्सिलमार्फत प्रक्रिया अगाडि बढाउन सम्भव नभएको र त्यसैले राज्यको कानुनअनुसार न्याय खोजिएको देउवाले बताइन्। उनका अनुसार सम्बन्धित अदालतले नै पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा कुनै पनि पक्षलाई सत्य बुझ्न आग्रह गर्नु 'धम्की' होइन, सूचना दिने प्रयास हो।
"मैले त नागरिक दैनिक जस्तो प्रतिष्ठित पत्रिकाले तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्छ भन्ने सुझाव मात्र दिएकी थिएँ। तर सो संवादलाई तोडमोड गरी प्रस्तुत गरिनु दुःखद र पत्रकारिताको मर्यादा विपरीत छ," देउवाले थपिन् ।
उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भनिन्, "म नेपाली कांग्रेसको एक जिम्मेवार नेतृको नाताले प्रेस स्वतन्त्रताप्रति पूर्ण आस्था राख्छु। तर स्वतन्त्रतासंगै जिम्मेवारी पनि आउँछ भन्ने कुरा मिडियाले बिर्सनु हुँदैन ।" मिडियाले सत्य, तथ्य र प्रमाणको आधारमा निष्पक्ष रिपोर्टिङ गर्नु नै लोकतन्त्रको हितमा हुने उनको भनाइ छ ।
मन्त्री देउवाको आफ्नो फेसबुकमा उल्लेख :
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।
उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।
बरु मैले म आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढि संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।
तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो ।