काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेमाथि संसद् सञ्चालनमा "दादागिरी शैली" अपनाएको गम्भीर आरोप लगाएका छन् ।आइतबार प्रतिनिधिसभामा प्रतिपक्षी दलको विरोधका बीच संसद अगाडि बढाउने सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै नेता शाहीले भने, “संसद्मा आन्दोलन भइरहँदा जबरजस्ती प्रक्रिया अघि बढाउनु संसदीय अभ्यास होइन, दादागिरी हो। दादागिरी बन्द गर्नुस्।”
भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय समिति गठन गरिनुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने राप्रपाको माग रहँदै आएको छ। उक्त मागसहित प्रतिपक्षी दलहरुले संसदमा नाराबाजी गरिरहेका बेला सभामुख घिमिरेले बहस र प्रक्रिया अघि बढाएकोमा शाहीले असन्तुष्टि व्यक्त गरेका हुन्।
“सांसदहरू जनताबाट निर्वाचित प्रतिनिधि हुन्। यस्तो गम्भीर विषयमा निष्पक्ष छानबिनको माग गर्नु हाम्रो कर्तव्य हो। तर सत्तापक्षको पक्षपाती भूमिकामा देखिने व्यवहार संसदीय मर्यादा विपरीत हो,” शाहीले चेतावनी दिँदै भने । शाहीले सभामुखलाई सबै पक्षको आवाज सुन्ने संयमित भूमिका निर्वाह गर्न आग्रह गर्दै भने, “प्रतिनिधिसभा दलहरूको साझा मञ्च हो, कसैको एकल निर्णयले चल्ने थलो होइन।”