काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि स्पष्ट कार्ययोजना सहित काम अघि बढाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा मन्त्री लेखकले अध्यागमनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया मापदण्ड र कार्यविधिअनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएमा कडा कारबाही हुने चेतावनी गृहमन्त्रीले दिनुभएको हो। “गैरकानुनी तरिकाबाट मान्छे गएका छन् भन्ने प्रमाण पाएमा सम्बन्धित बेला कार्यरत कर्मचारीलाई कारबाही गरिनेछ”, मन्त्री लेखकको भनाइ उद्धृत गर्दै प्रवक्ताले बताउनुभयो ।
मन्त्री लेखकले विगतमा भएका अध्यागमन सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न जोड दिनुभयो। अध्यागमन प्रणालीमा डिजिटल स्तरोन्नति आवश्यक रहेको बताउँदै उहाँले कर्मचारीको आचरणमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बैठकमा गृहमन्त्रीले अध्यागमन सुधारका लागि पछिल्लो एक महिनामा भएका प्रयासबारे जानकारी लिँदै आगामी दिनमा संरचनागत सुधार, अध्यागमनको छवि र पारदर्शिता कायम गर्न विशेष जोड दिनुभएको थियो ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, मन्त्रालयअन्तर्गत विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुखलगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। यसैबीच, अध्यागमन कार्यालयको भिजिट भिसा सम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।