काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानुन संशोधन गर्न तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “७० सालपछि प्रहरी कानून बनाउँदैछौं। यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो ।
” गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई आवश्यक छलफल गर्न समय दिन तयार रहेको बताउँदै विधेयक टुंगोमा पुग्न सहयोग गर्न अनुरोध गर्नुभयो। साथै, उहाँले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई पनि महत्वपूर्ण भन्दै त्यसलाई अघि बढाउन समितिको ध्यानाकर्षण गराउनुभयो ।
“गृह मन्त्रालय अन्तर्गतका अन्य विधेयकहरू पनि पाइपलाइनमा छन्,” मन्त्री लेखकले भन्नुभयो, “यी विषयमा समितिले देखाएको प्राथमिकता प्रति धन्यवाद दिन चाहन्छु ।”