काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल पार्टीको विधान र संविधानले दिएको सीमाभित्र रहेर लम्ब्याउने संकेत गरेका छन् ।
सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरूले १५औँ महाधिवेशनको मिति तोक्न दबाब दिएपछि देउवाले जवाफ दिँदै ठट्टाको शैलीमा भने, “पार्टीको विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना बढाउन पाइन्छ, त्यो त पाइन्छ नै भनेको नै हो नि ! मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो।”
साथै उनले थपे, “म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे, हेर्नुस् ।” सभापति देउवाले आफूलाई "अप्ठेरो मान्छे" भएको उल्लेख गर्दै नेताहरूलाई विचारपूर्वक अघि बढ्न आग्रह गरेका छन् l
यो भनाइले देउवाको कार्यकाल लम्ब्याउने संभावनाबारे संकेत गरेको छ भने कांग्रेसभित्रको आन्तरिक बहसमा उनले हँसिलो तर कूटनीतिक ढंगले उत्तर दिएको देखिन्छ।