काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्तिहरु पनि गएको भन्ने विषयमा गम्भीर चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई उक्त भ्रमणबारे निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको हो। “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को–को गए? कुन विधि र प्रक्रियाबाट गए? कुन संस्थाको समन्वयमा गएका थिए? भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले भन्नुभयो ।
गृह मन्त्रालयका अनुसार गैर-सरकारी प्रतिनिधिहरु भिजिट भिसामा स्पेन गएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरो खटाइनेछ ।
गृहमन्त्रीले दोषी देखिएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गरिने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो ।