काठमाडौ l नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको दाबीको विषय तातेको छ। तत्कालीन महासचिव एवं नेता भण्डारीले अध्यक्ष पदमा दाबी गर्ने संकेत दिएपछि एमालेको शीर्ष तहमा हलचल पैदा भएको छ ।
असार १४ गते मदन जयन्तीको अवसर पारेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले असार २६ मा सञ्चारकर्मी जगदीश खरेलको कार्यक्रम हट सिट मा स्पष्ट रूपमा भनिन्, “अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएकी हुँ, त्यसमा कुनै सन्देह छैन ।”
उनको यस अभिव्यक्तिलाई एमाले महाधिवेशनको सन्दर्भमा गम्भीर राजनीतिक सन्देशको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा खुला चुनौतीका रूपमा आएको हो ।
२०७८ मंसिरमा चितवन सौराहमा सम्पन्न १०औं महाधिवेशनमा निर्विकल्प रूपमा निर्वाचित भएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले अझै २०–२५ वर्षसम्म नेतृत्व छाड्ने तयारी नभएको संकेत दिइसकेका छन्। वैशाख ९ गते लेनिन जयन्तीको अवसरमा ओलीले “आफूविनाको एमाले र एमालेविनाको नेपाल कल्पना गर्न सकिन्न” भन्दै आफूको निर्णायक भूमिकाबारे पुनः दोहोऱ्याएका थिए ।
भण्डारीको दाबी र ओलीको अभिव्यक्तिबीचको अन्तरविरोधले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा परिवर्तन ल्याउने सम्भावना देखिएको छ । अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाले आगामी महाधिवेशन पेचिलो हुने संकेत देखिएको छ ।