काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आउनुभएको छ । नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन च्या च्युन नेतृत्वको टोली आइतबार काठमाडौं आइपुगेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतले स्वागत गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने युआन च्या च्युन सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ ।
उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
उहाँको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुग्नुभएको थियो । तीन दिने नेपाल भ्रमणका क्रममा उहाँले बिभिन्न दलका नेताहरुसंग पनि भेटवर्ता गर्ने कार्यक्रम छ ।