काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। सचिव योगेश भट्टराईका अनुसार यसअघि ११ बजेका लागि तय गरिएको बैठक दुई घन्टा ढिला गरी सुरु हुँदैछ ।
आजको बैठकमा बिहीबार रातिसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे छलफल र अनुमोदन गरिनेछ । सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाउने, ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमालाई हटाउने, र सचिवालयको अवधारणा समाप्त गर्ने निर्णय गरिसकेको छ । अब पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् ।
पार्टी उपाध्यक्ष गुरू बरालका अनुसार नेताहरूबीच लामो छलफलपछि यी विषयहरूमा सहमति जुटेको हो । आगामी राष्ट्रिय महाधिवेशनमा यी संरचनात्मक परिवर्तनलाई प्रस्ताव गर्ने निर्णय भएको छ ।
१५ पदाधिकारीको संरचनामा अध्यक्ष, महासचिव र उपमहासचिव एक–एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ । यद्यपि अन्य पदहरू कसरी विभाजन गर्ने भन्नेमा औपचारिक निर्णय भइसकेको छैन ।
विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले ११ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए । तर नेताहरूको सुझावअनुसार पदाधिकारी संख्या १५ र केन्द्रीय सदस्य संख्या २५१ पुर्याइएको छ । अब केन्द्रीय कमिटीका एकतिहाइ सदस्य पोलिटब्युरो सदस्य रहनेछन्, जसअनुसार पोलिटब्युरो ८३ सदस्यीय हुनेछ । हाल पोलिटब्युरो ९९ सदस्यीय थियो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार १५ पदाधिकारीलाई नै स्थायी कमिटीको रूपमा मान्ने निर्णय सर्वसम्मत रूपमा गरिएको छ । साथै, अब केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् भने नयाँ थपिएका सदस्यहरू आयोजकको हैसियतमा मात्रै सहभागी हुनेछन् ।
यी सबै निर्णयहरूलाई आजको पोलिटब्युरो बैठकले अनुमोदन गर्नेछ र असार ५ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।