काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा तथा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका नेपाली युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘पास गरेकोलाई कोरिया पठाऊ’ र ‘रोजगारको अधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उत्रिएका युवाहरूले लामो समयदेखि रोकिएको प्रक्रियालाई गति दिँदै सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन जोडदार माग गरेका हुन्।
ईपीएस परीक्षा उत्तीर्ण गरिसकेपछि पनि हजारौँको संख्यामा रहेका नेपाली युवाहरू अहिले दक्षिण कोरिया जानबाट बञ्चित भई लामो समयदेखि प्रतीक्षामा रहन बाध्य छन्। भाषा परीक्षा उत्तीर्ण भएर कोरियाली रोजगारदाताको छनोट सूची (रोस्टर) मा नाम परे तापनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, कोटाको सीमितता, सुस्त प्रशासनिक प्रक्रिया तथा नेपाल-कोरिया श्रम आपूर्तिमा देखिएका नीतिगत जटिलताका कारण आफूहरू अलपत्र परेको युवाहरूको गुनासो छ।
प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौँको अमूल्य समय खर्चिएको र विभिन्न तालिम तथा कागजी प्रक्रिया पूरा गर्ने क्रममा ठूलो आर्थिक लगानी भइसकेको दुखेसो पोखेका छन्। लगानी र मेहनत दुवै खेर जाने जोखिम बढेको भन्दै उनीहरूले श्रम आपूर्ति प्रक्रियालाई पारदर्शी बनाउन, कोरिया सरकारसँग समन्वय गरी श्रम कोटा वृद्धि गर्न र रोकिएका नेपाली श्रमिकहरूलाई अविलम्ब पठाउने वातावरण निर्माण गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।