काभ्रे । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किलोमिटर सडकखण्डको पुनःनिर्माण औपचारिक रूपमा सुरु गरिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा यस परियोजनाको शिलान्यास गरेका हुन्। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते भएको द्विपक्षीय सम्झौतापश्चात् जापानकै सिमिजु कर्पोरेसनले यस खण्डको निर्माण जिम्मा लिएर काम अघि बढाएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिएका छन्। २०८१ असोजको विनाशकारी बाढीपहिरो तथा २०८२ को वर्षाका कारण क्षतिग्रस्त भएको यस राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा पर्ने करिब ३० किलोमिटर सडक स्थायी रूपमा पुनःनिर्माण तथा मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ।
हाल बिपी राजमार्गको क्षतिग्रस्त सडकलाई चारवटा खण्डमा विभाजन गरी तीव्र रूपमा निर्माण कार्य अघि बढाइएको छ। जाइकाले हेर्ने खण्डबाहेक नेपाल सरकारको तर्फबाट ठेक्का लागेका काभ्रेपलाञ्चोकतर्फका तीनवटा सडकखण्डमा हालसम्म कुल २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। बाढीले सडक पूर्ण रूपमा बगाएका (वासआउट) स्थानहरूमा आगामी दिनमा क्षति नपुग्ने गरी 'आरसिसी' र प्लम्प पर्खाल लगाउने, सडक चौडा गर्ने तथा चौकीडाँडा, चारसयबेँसी, भकुण्डेबेँसी, डालाबेँसी र मङ्गलटार खण्डमा संरचना निर्माण गर्ने काम भइरहेको छ। यस वर्ष संरचना निर्माण र सडक चौडा गर्ने काम सकेर आगामी वर्ष कालोपत्र गर्ने योजना रहेको छ। अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै पुलसहित सम्पूर्ण सडकलाई दुई लेनको बनाइनेछ, जसअन्तर्गत गुड्ने सडकसँगै रहेका पाँचवटा पुलहरूलाई दुई लेनमा परिणत गरिने योजना छ।
नेपाल सरकारले क्षतिग्रस्त खण्डको पुनःनिर्माणका लागि कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ, जसमा काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ। नेपाली निर्माण व्यवसायीहरूतर्फ डालाबेँसीदेखि चारसयबेँसी खण्ड (८.५ किमी) का लागि खानी–एवन–कमलजीत जेभीलाई १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ, चारसयबेँसीदेखि भकुन्डेबेँसी खण्ड (११.०८ किमी) का लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, र नेपालथोकदेखि बर्खेखोला खण्ड (४.९० किमी) का लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ। विसं २०५३–५४ देखि जापान सरकारकै अनुदानमा निर्माण सुरु भई २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो ऐतिहासिक बिपी राजमार्गलाई पुरानै लयमा फर्काउन दुवै देशका तर्फबाट उच्च प्राथमिकताका साथ काम भइरहेको छ।