काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई ‘ग्यालेक्सी फोर के’ टेलिभिजन सञ्चालन भइरहेको घर खाली गर्न १५ दिने अन्तिम सूचना जारी गरेको छ। महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयावधिभित्र कानुनबमोजिम आफ्ना सरसामान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम ती सामानहरू लिलाम गर्ने चेतावनी दिएको छ। घरधनी मृगेन्द्र मिश्रले २०८३ वैशाख २१ गते महानगरमा निवेदन दिँदै निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भइसकेकाले ग्यालेक्सी फोर केमा रहेका सामानहरू लिलाम गर्न माग गरेपछि महानगरले यो कदम चालेको हो।
यसअघि घरधनी मिश्रले भाडा असुलउपर गरी घरजग्गा खाली गराइपाऊँ भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध महानगरपालिकाको न्यायिक समितिमा मुद्दा दायर गरेका थिए। सोही मुद्दाको रोहवरमा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न महानगरका नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेशानुसार २०८२ कात्तिक १४ गते महानगरको टोली खटिएर निर्णय कार्यान्वयन गराएको थियो। विभिन्न सहकारी संस्थाको रकम अपचलन गरी ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका अध्यक्ष जीबी राई सो घोटाला काण्ड सार्वजनिक भएदेखि नै फरार रहँदै आएका छन्।
