काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय मुख्यालयमा विशेष सम्मानसहित स्वागत गरिएको छ। मुख्यालय परिसरमा बाजागाजासहित पुष्प वर्षा गर्दै लामिछाने र उनको प्रतिनिधिमण्डललाई स्वागत गरिएको दृश्यले भारतीय सत्तारुढ दलले नेपाली राजनीतिक नेतृत्वप्रति देखाएको महत्वलाई संकेत गरेको छ।
लामिछानेसहितको टोलीलाई भाजपाका अध्यक्ष नितिन नवीन तथा अन्य उच्च पदाधिकारीहरूले औपचारिक स्वागत गरेका थिए। भ्रमणका क्रममा दुवै पक्षबीच नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, संगठन निर्माण तथा राजनीतिक दलहरूबीचको सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ। रास्वपाका अनुसार यस भ्रमणको मुख्य उद्देश्य भाजपा र रास्वपाबीच पार्टी–टु–पार्टी सम्बन्धको औपचारिक सुरुवात गर्नुका साथै संगठन सुदृढीकरण, जनकेन्द्रित राजनीति र लोकतान्त्रिक अभ्यासका अनुभव आदानप्रदान गर्नु हो।
भाजपाले नेपाली प्रतिनिधिमण्डलसँग रचनात्मक र दीर्घकालीन संवादका लागि आफू खुला रहेको जनाएको छ। लामिछानेको सम्मानमा मुख्यालयले विशेष रात्रिभोजको समेत आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ। यसअघि ‘भाजपालाई चिन्नुहोस्’ अभियानअन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा भाजपाका अध्यक्ष नितिन नवीन र विदेश मामिला विभागका प्रभारी विजय चौथाईवा सहभागी भएका थिए।
भ्रमणका क्रममा आयोजित अर्को कार्यक्रममा नितिन नवीनले भाजपाको यात्रा केवल राजनीतिक विस्तारको इतिहास नभई राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा र समाजको अन्तिम व्यक्तिसम्म विकासको लाभ पुर्याउने अभियान भएको बताएका थिए। लामिछानेको यो भ्रमणलाई नेपाल–भारतबीच राजनीतिक दलहरूको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

