काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले आफ्नो भ्रमण दलका सदस्यहरूसहित तथा छुट्टाछुट्टै रूपमा पनि प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सहकार्य, लोकतान्त्रिक अभ्यास तथा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भ्रमणलाई नेपाल र भारतबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
रास्वपाले सभापति लामिछानेको भारत भ्रमणलाई अनुभव आदान–प्रदान, राजनीतिक संवाद र द्विपक्षीय सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानेको छ। पाँचदिने भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटलाई निरन्तरता दिने कार्यक्रम रहेको बताइएको छ।