नयाँ दिल्ली । नेपालको बदलिँदो राजनीतिक परिदृश्यका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने को पाँचदिने भारत भ्रमणले नयाँ राजनीतिक तथा कूटनीतिक बहस जन्माएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको उच्चस्तरीय भेटवार्तालाई केवल शिष्टाचार भेटका रूपमा नभई नेपालका उदाउँदा राजनीतिक शक्तिप्रति भारतको रणनीतिक चासोका रूपमा विश्लेषण गर्न थालिएको छ।
गत निर्वाचनपछि नेपाली राजनीतिमा बलियो उपस्थितिका साथ उदाएको रास्वपाका नेता लामिछानेका लागि यो दलको प्रमुखका रूपमा पहिलो औपचारिक तथा प्रभावशाली भारत भ्रमण हो। नयाँ दिल्लीस्थित कूटनीतिक वृत्तमा यो भ्रमणलाई भारतले नेपालको नयाँ राजनीतिक पुस्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
प्रधानमन्त्री मोदीसँगको भेटपछि दुवै देशबीचको सम्बन्ध, पारस्परिक समृद्धि र भविष्यको सहकार्यका विषयमा सकारात्मक संवाद भएको संकेत सार्वजनिक भएको छ। यसले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक दलहरूको सीमाभन्दा बाहिर विस्तार गर्ने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयको भ्रमण गरी पार्टी नेतृत्वसँग भेटवार्ता गरेका थिए। भाजपा नेतृत्वले दिएको उच्चस्तरीय स्वागतलाई नयाँ दिल्लीले रास्वपालाई दिएको राजनीतिक मान्यताको संकेतका रूपमा लिइएको छ। छलफलमा युवा नेतृत्व, सुशासन, संगठन विस्तार, डिजिटल प्रविधिको प्रयोग र विकासमुखी शासन प्रणालीका विषय प्रमुख रूपमा उठाइएको बताइएको छ।
नेपाल–भारत सम्बन्धमा पछिल्ला वर्षहरूमा देखिएको कूटनीतिक सुस्तता, सीमा विवाद र बदलिँदो क्षेत्रीय राजनीतिक समीकरणबीच भएको यो भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ। भारतले अब केवल परम्परागत शक्ति केन्द्रहरूसँग मात्र होइन, भविष्यका सम्भावित नेतृत्वसँग पनि सम्बन्ध सुदृढ गर्न खोजिरहेको सन्देश यसबाट गएको देखिन्छ।
यस भ्रमणले लामिछानेलाई घरेलु राजनीतिका लोकप्रिय नेताबाट अन्तर्राष्ट्रिय कूटनीतिक संवादमा सक्रिय सहभागीका रूपमा स्थापित गर्ने अवसर दिएको छ। साथै, रास्वपाको राजनीतिक हैसियतलाई क्षेत्रीय शक्ति केन्द्रहरूले समेत गम्भीर रूपमा लिन थालेको संकेतका रूपमा यसलाई व्याख्या गरिएको छ।