काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई परम्परागत अर्थतन्त्रबाट विद्युत, प्रविधि र नवप्रवर्तनमा आधारित आधुनिक अर्थतन्त्रतर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक एक्स्पो २०२६’ को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले ऊर्जा, प्रविधि र औद्योगिक सहकार्यलाई सुदृढ बनाउने यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीहरूले नेपालको आर्थिक विकास यात्रालाई नयाँ दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले प्रदर्शनीलाई केवल व्यापारिक गतिविधिको रूपमा नभई ऊर्जा, विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्र, सूचना प्रविधि, सञ्चार र वैकल्पिक ऊर्जाको विकासमार्फत हरित अर्थतन्त्र, नवप्रवर्तन र दिगो औद्योगिक विकासलाई गति दिने महत्वपूर्ण अभियानका रूपमा व्याख्या गरे।
अध्यक्ष अग्रवालले यस्ता प्रदर्शनीहरूले विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक तथा सेवा प्रदायकबीच सूचना, अनुभव र अत्याधुनिक प्रविधिको आदान-प्रदानलाई सहज बनाउने उल्लेख गरे। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी-व्यवसायीलाई एउटै मञ्चमा ल्याएर व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले प्रदर्शनीलाई नेपालको आर्थिक रूपान्तरणको “प्रारम्भिक बिन्दु” का रूपमा चित्रण गर्दै उत्पादन क्षमता र बजार अवसरबीचको दूरी घटाउन तथा मुलुकलाई उच्च आर्थिक वृद्धिदरतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। नेपालको आर्थिक वृद्धि दर ७ प्रतिशतभन्दा माथि पुर्याउने राष्ट्रिय लक्ष्य प्राप्तिमा पनि यस्ता प्रवर्द्धनात्मक गतिविधिहरूले उल्लेखनीय योगदान दिन सक्ने उनको विश्वास छ।
ऊर्जा उपयोग र आर्थिक विकासबीचको सम्बन्धबारे चर्चा गर्दै अध्यक्ष अग्रवालले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब १,५०० युनिट किलोवाट आवर तथा चीनमा करिब ७,१०० युनिट किलोवाट आवर रहेको उल्लेख गरे। तुलनात्मक रूपमा नेपालमा प्रतिव्यक्ति विद्युत खपत करिब ४६५ युनिट किलोवाट आवर मात्र रहेको तथ्य प्रस्तुत गर्दै उनले ऊर्जा उपयोगको न्यून स्तरले औद्योगिक विकास र आर्थिक रूपान्तरणको गति सीमित बनाएको बताए।
उनले विद्युत खपत विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा ऊर्जा-आधारित उद्योगहरूको विकासलाई आर्थिक रूपान्तरणको आधारस्तम्भका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा अध्यक्ष अग्रवालले हाल कार्यान्वयनमा रहेको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणालीप्रति पनि ध्यानाकर्षण गराए। विशेषगरी भन्सार नाकामै एमआरपी लेबलिङ अनिवार्य गर्ने व्यवस्थाले व्यवसायीहरूलाई व्यवहारिक कठिनाइ उत्पन्न गरेको उनको भनाइ थियो।
एउटै कन्टेनरमा विभिन्न प्रकृतिका वस्तु आयात हुने अवस्थामा भन्सार बिन्दुमै लेबलिङ गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधारको अभावका कारण व्यवसायमा अतिरिक्त लागत र दबाब सिर्जना भएको बताए।
उनले उपभोक्ता हित र बजार पारदर्शितालाई कायम राख्दै व्यवसायमैत्री तथा व्यवहारिक नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरे। साथै, खुला प्रतिस्पर्धा, बजार विस्तार र सहज व्यापारिक वातावरण निर्माणका लागि विद्यमान व्यवस्थामा आवश्यक सुधार गर्नुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष अग्रवालले ‘फिन इलेक्ट्रो टेक एक्स्पो २०२६’ ले नेपाललाई ऊर्जा, प्रविधि र नवप्रवर्तनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।