काठमाडौं l नेपाली निजामती प्रशाXसनमा महिला नेतृत्वको सशक्त उपस्थिति झन् मजबुत बन्दै गएको छ । यही क्रममा सहसचिव सृजना थपलिया मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको पहिलो महिला प्रमुख बनेर नयाँ इतिहास रच्न सफल भएकी छन ।
यसअघि संखुवासभा जिल्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने कीर्तिमान कायम गरेकी थपलियाले अर्को महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै नेपाली प्रशासनिक सेवामा महिला नेतृत्वको नयाँ मानक स्थापित भएको छ । संखुवासभामा करिब नौ महिना सफलतापूर्वक नेतृत्व गरेपछि उहाँलाई गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय मुलुकको सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटक व्यवस्थापन तथा राष्ट्रिय छविसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील निकाय हो । दैनिक हजारौं नेपाली तथा विदेशी नागरिकको आगमन-प्रस्थान व्यवस्थापन गर्ने यस कार्यालयको नेतृत्वमा पहिलोपटक महिला पुग्नु केवल प्रशासनिक परिवर्तन मात्र नभई राज्य संरचनाभित्र बढ्दो लैङ्गिक समावेशिता र नेतृत्व क्षमताको सशक्त संकेत पनि हो ।
प्रशासनिक क्षेत्रमा इमानदार, सक्षम र परिणाममुखी अधिकारीका रूपमा परिचित थपलियाले आफ्नो कार्यकालभर सुशासन, सेवा प्रवाह र प्रभावकारी प्रशासनिक व्यवस्थापनमा उल्लेखनीय योगदान दिँदै आएकी छन ।
संखुवासभामा प्रमुख जिल्ला अधिकारीका रूपमा रहँदा शान्ति सुरक्षा व्यवस्थापन, विपद् समन्वय तथा नागरिकमैत्री प्रशासन सञ्चालनमा देखाउनुभएको कार्यदक्षताले उनलाई थप ठूलो जिम्मेवारीको लागि योग्य साबित गरेको थियो ।
सृजना थपलियाको यो उपलब्धि व्यक्तिगत सफलता मात्र होइन, नेपाली प्रशासनिक सेवामा कार्यरत सम्पूर्ण महिलाहरूका लागि प्रेरणाको विषय बनेको छ । राज्यका महत्वपूर्ण र संवेदनशील निकायहरूको नेतृत्व महिलाले पनि प्रभावकारी रूपमा सम्हाल्न सक्छन् भन्ने सन्देश उहाँको यात्राले पुनः स्थापित गरेको छ ।
उनको यो सफलता समान अवसर, समावेशी नेतृत्व र क्षमतामाथिको विश्वासको सशक्त उदाहरणका रूपमा लिइएको छ । प्रशासनिक क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताका महिला कर्मचारीहरूका लागि थपलियाको यात्रा प्रेरणा, आत्मविश्वास र सम्भावनाको उज्यालो मार्गचित्र बनेको छ ।
नयाँ जिम्मेवारीमा उच्च अपेक्षा
विमानस्थल अध्यागमन कार्यालयको नेतृत्व सम्हाल्दै गर्दा सेवा प्रवाहलाई अझ प्रविधिमैत्री, चुस्त, पारदर्शी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ । अध्यागमन व्यवस्थापनको आधुनिकीकरण, सुरक्षा सुदृढीकरण तथा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाहमा उनको नेतृत्व प्रभावकारी रहने विश्वास सरकारी तथा प्रशासनिक वृत्तमा व्यक्त गरिएको छ ।
संखुवासभाको पहिलो महिला सीडीओ बनेर इतिहास लेखेकी सृजना थपलिया अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको पहिलो महिला प्रमुखका रूपमा अर्को ऐतिहासिक अध्याय रच्दै नेपाली प्रशासनिक सेवामा महिला नेतृत्वको गौरवपूर्ण पहिचानलाई थप उचाइमा पुर्याउन सफल भएकी छन् ।