ढाका, बंगलादेश । दिगो कृषि, महिला सशक्तीकरण, जलवायु-अनुकूल प्रविधि र समुदायमा आधारित आर्थिक रूपान्तरणका सफल अभ्यासहरूलाई नजिकबाट अध्ययन गर्दै नेपालमा अझ प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यसहित हेफर प्रोजेक्ट नेपालको सञ्चालक समितिका अध्यक्ष भीष्म प्रसाईंको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले बंगलादेशको सिराजगञ्ज जिल्लास्थित सलोङ्गा मेघना महिला सहकारी लिमिटेड तथा इको-भिलेज (Eco-Village) कार्यक्रमको विस्तृत स्थलगत अवलोकन गरेको छ ।
हेफर इन्टरनेसनल बंगलादेश र नेसनल डेभलपमेन्ट प्रोग्राम (NDP) को व्यवस्थापकीय समन्वयमा सम्पन्न उक्त अध्ययन भ्रमणलाई नेपाल-बंगलादेशबीच दिगो विकासका सफल अभ्यासहरूको अन्तरदेशीय आदानप्रदानका रूपमा महत्वपूर्ण मानिएको छ ।
ढाकास्थित होटल लेकशोरबाट प्रस्थान गरेको नेपाली टोलीलाई उल्लापारा क्षेत्रमा सहकारी व्यवस्थापन समिति, स्थानीय महिला नेतृत्व तथा समुदायका प्रतिनिधिहरूले आत्मीय स्वागत गरेका थिए । त्यस अवसरमा सहकारीको स्थापना, व्यवस्थापन प्रणाली, वित्तीय अनुशासन, सामाजिक उद्यमशीलता र ग्रामीण अर्थतन्त्रमा आएको परिवर्तनबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।
प्रतिनिधिमण्डलले सहकारीले समुदायमा सिर्जना गरेको आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रत्यक्ष रूपमा अवलोकन गर्दै विभिन्न पक्षमा अनुभव आदानप्रदान गरेको थियो ।

१४ सयभन्दा बढी महिलाको आर्थिक रूपान्तरणको आधार बनेको सहकारी
सन् २०२२ जुन २८ मा बंगलादेशको सहकारी विभागमा विधिवत् दर्ता भएको सलोङ्गा मेघना महिला सहकारी लिमिटेड छोटो अवधिमै ग्रामीण महिला सशक्तीकरणको प्रभावकारी नमुनाका रूपमा स्थापित भएको छ ।
भोक र गरिबीमुक्त समाज निर्माण तथा महिलाहरूबीच आर्थिक समानता र सामाजिक पूँजी विस्तार गर्ने लक्ष्यसहित सञ्चालित यस सहकारीमा हाल १५ गाउँका ४९ समूहमार्फत १,४३३ जना महिला सदस्य आबद्ध छन् ।
केवल ६ सदस्यीय व्यवस्थापन समिति र ४ जना स्थायी कर्मचारीद्वारा सञ्चालन भइरहेको संस्थाले गत आर्थिक वर्षमा ५,७२,६७५ टका खुद नाफा आर्जन गरेको छ भने ३८,६९,९६२ टका बराबरको कर्जा लगानी ग्रामीण उद्यममा परिचालन गरेको छ । यसले महिला उद्यमशीलता र स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा सुदृढ बनाएको देखिएको छ ।
सहकारीको संस्थागत क्षमता अभिवृद्धि तथा महिला उद्यमशीलता विस्तारका लागि हेफर इन्टरनेसनलले १९ लाख २५ हजार टकाको अनुदान सहयोग उपलब्ध गराएको छ । उक्त सहयोगले वित्तीय पहुँच विस्तार गर्नुका साथै नेतृत्व विकास, बचत संस्कृतिको प्रवर्द्धन र सामूहिक आर्थिक उन्नतिका अवसर सिर्जना गरेको स्थानीय प्रतिनिधिहरूले बताएका छन् ।
भ्रमणका क्रममा हेफर इन्टरनेसनलको सहयोगमा सञ्चालन भएका कार्यक्रम तथा प्राप्त उपलब्धिहरूबारे साम्पा खातुङले विस्तृत प्रस्तुतीकरण गर्दै सहकारीमार्फत समुदायमा आएको आर्थिक, सामाजिक र वातावरणीय परिवर्तनका विविध पक्षहरू प्रस्तुत गरेकी थिइन् । उनले महिलाको आय वृद्धि, संस्थागत क्षमता विकास तथा जलवायु-अनुकूल उत्पादन प्रणालीले ग्रामीण जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गरिन् ।

जलवायु-अनुकूल कृषि र हरित प्रविधिको प्रभावकारी अभ्यास
अध्ययन भ्रमणको अर्को प्रमुख आकर्षण इको-भिलेज अवधारणाअन्तर्गत विकास गरिएका हरित प्रविधि र वातावरणमैत्री कृषि प्रणालीहरू थिए । प्रतिनिधिमण्डलले ४० घरधुरीमा स्थापना गरिएका बायोग्यास प्लान्ट, २० घरमा प्रयोग भइरहेका सुधारिएको ‘बन्धु चुलो’, ५ घरधुरीमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली, तथा कार्बन उत्सर्जन न्यूनीकरणका लागि निर्माण गरिएका नेट-जिरो कार्बन पशुगोठको अवलोकन गरेको थियो ।
सेतो छानायुक्त आधुनिक गोठले तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म घटाएर पशु स्वास्थ्य र उत्पादन क्षमता सुधारमा योगदान पुर्याइरहेको जानकारी टोलीलाई दिइएको थियो। साथै २४ वटा भर्मी कम्पोष्ट उत्पादन केन्द्र, २ घरधुरीमा अजोला खेती, २० स्थानमा सुरक्षित तरकारी उत्पादन प्रदर्शन लगायतका कार्यक्रमहरूले वातावरण संरक्षणसँगै कृषि उत्पादन वृद्धि गर्न सफल भएको देखिएको छ ।
सहकारीमा आबद्ध ७५० जना सदस्य व्यावसायिक पशुपालनमा संलग्न छन् भने २४५ जना दुग्ध उत्पादन व्यवसायमा सक्रिय रहेका छन् । कृषकहरूको जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै ३० वटा गाईवस्तुको बीमा व्यवस्था गरिएको अभ्यासलाई पनि प्रतिनिधिमण्डलले सकारात्मक उदाहरणका रूपमा लिएको छ ।

सामाजिक उत्तरदायित्वदेखि विद्यालय पोषण कार्यक्रमसम्म
सलोङ्गा मेघना महिला सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ । संस्थाले व्यावसायिक रूपमा डालेघाँस बजार र मासु बिक्री केन्द्र सञ्चालन गर्नुका साथै स्थानीय कृषकहरूको हितका लागि सामुदायिक बीउ बैंक स्थापना गरेको छ, जसमा ८० जना कृषक आबद्ध छन् ।
त्यसैगरी, शिक्षा र बाल पोषणलाई प्राथमिकतामा राख्दै सहकारीले ‘मिल्क फर स्कूल’ कार्यक्रममार्फत ७ वटा सामुदायिक विद्यालयका १,१६५ जना विद्यार्थीलाई नियमित रूपमा पोषणयुक्त दूध उपलब्ध गराइरहेको छ । यस कार्यक्रमले विद्यालय शिक्षा र बाल पोषण सुधारमा सकारात्मक प्रभाव पारेको स्थानीय पक्षले जनाएको छ ।

नेपाल-बंगलादेश सहकार्यलाई नयाँ ऊर्जा
हेफर प्रोजेक्ट नेपालको सञ्चालक समिति सचिव निर्मला क्षेत्रीका अनुसार भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले स्थानीय समुदाय, महिला उद्यमी तथा विकास विज्ञहरूसँग खुला अन्तरक्रिया गर्दै अनुभव आदानप्रदान गरेको थियो ।
स्थानीय संस्कृति झल्किने स्वागत कार्यक्रम, फूल र मैनबत्तीले सजाइएको विषयगत प्रदर्शनी तथा व्यापक सामुदायिक सहभागिताले विकास प्रक्रियामा समुदायको स्वामित्व र सहकार्यको महत्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको उनले बताइन् ।
भ्रमणको अन्तिम चरणमा नेपाली टोलीले एकसाथ फाउन्डेसन र हेफर बंगलादेशका प्रतिनिधिहरूसँग महिला सहकारी सुदृढीकरण, जलवायु–स्मार्ट कृषि, दिगो उद्यमशीलता तथा भविष्यका रणनीतिक साझेदारीका सम्भावनाबारे समीक्षा बैठक सम्पन्न गरेको थियो ।
यस अध्ययन भ्रमणले हेफर प्रोजेक्ट नेपालले अघि बढाइरहेको समावेशी विकास, महिला नेतृत्व, सहकारी सशक्तीकरण र जलवायु-मैत्री कृषिको यात्रालाई अन्तर्राष्ट्रिय सफल अभ्याससँग जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।
साथै नेपाल र बंगलादेशबीच ज्ञान, प्रविधि र अनुभवको आदानप्रदानमार्फत ग्रामीण समृद्धि र दिगो विकासका साझा लक्ष्यहरू हासिल गर्न नयाँ प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।
