नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ भैरमपुरमा आगलागीबाट प्रभावित परिवारहरूको पुनःस्थापनामा प्रतिनिधिसभा सदस्य विक्रम खनाल को सक्रिय पहल निरन्तर देखिएको छ । आगलागी पीडित १२ घरपरिवारलाई आज पुनः थप राहत सामग्री हस्तान्तरण गर्दै उहाँले पीडित समुदायलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रोटरी क्लब अफ काठमाडौं मिड टाउनको सहयोग तथा रोटर्याक्ट क्लब अफ काठमाडौं मिडको समन्वयमा प्राप्त खाद्यान्न, घर निर्माणका लागि आवश्यक फलामजन्य सामग्री तथा स्टेशनरी सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा सांसद खनालले विपद्को घडीमा सहयोग गर्ने सबै संघसंस्था तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै पीडितहरूको जीवन पुनः सामान्य बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिको हैसियतले पीडित नागरिकको दुःखमा साथ दिनु आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्नुभयो ।
भैरमपुरमा केही महिनाअघि भएको विनाशकारी आगलागीपछि सांसद खनालले राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्दै सहयोग जुटाउने अभियान सञ्चालन गर्नुभएको थियो । उहाँकै पहलमा यसअघि इन्द्रेणी सामाजिक विकास मञ्च, यूएमएन लगायतका संस्थाबाट खाद्यान्न, लत्ताकपडा, भान्साजन्य सामग्री तथा अत्यावश्यक राहत सामग्री वितरण भइसकेको छ ।
स्थानीयवासीहरूले पनि विपत्तिको कठिन घडीमा सांसद खनालले देखाएको सक्रियता र निरन्तर सहयोगको प्रशंसा गरेका छन् । राहत वितरणमा सीमित नभई पुनःनिर्माण तथा दीर्घकालीन पुनःस्थापनाका लागि समेत पहल भइरहेको बताइएको छ ।
भैरमपुरका आगलागी पीडितहरूको जीवन पुनः सहज र सुरक्षित बनाउने अभियानमा सांसद विक्रम खनालको निरन्तर सक्रियता स्थानीय समुदायका लागि आशाको आधार बनेको छ । जनप्रतिनिधिको जिम्मेवारीलाई व्यवहारमा उतार्दै उहाँले विपद्पीडित नागरिकको साथमा उभिने उदाहरण प्रस्तुत गर्नुभएको स्थानीयवासीहरूको भनाइ छ ।



