बागमती । करिब २६ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै सम्बन्धित निकायहरूको सक्रियता बढ्न थालेको छ। उद्योगको सम्भाव्यता अध्ययन, स्थलगत अनुगमन तथा आवश्यक पूर्वतयारीका कामहरू तीव्र पारिएका छन्।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि उत्पादन थालेको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द अवस्थामा रहेको छ। उद्योग पुनः सञ्चालनका लागि विगतमा विभिन्न प्रयासहरू भए पनि ती सफल हुन सकेका थिएनन्। तर चालु वर्षमा सरकारले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राखेपछि प्रक्रिया पुनः अघि बढाइएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारी निकायहरूले स्थलगत अध्ययन र निरीक्षणलाई तीव्रता दिएका छन्। उनका अनुसार उद्योगमा रहेका अधिकांश उपकरण सामान्य मर्मतसम्भारपछि सञ्चालनयोग्य अवस्थामा रहेका छन्।
भण्डारीले हेटौँडा कपडा उद्योगसँगै तत्कालीन समयमा बुटवलमा धागो कारखाना र बाँकेको नेपालगञ्जमा कपास उत्पादनसम्बन्धी उद्योग पनि सञ्चालनमा रहेको स्मरण गराउँदै कपडा उद्योग बन्द भएसँगै ती उद्योगहरू पनि क्रमशः निष्क्रिय बनेको बताए।
उद्योग पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष अग्रसरता लिएको छ। यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गरिसकेकी छन्। त्यसैगरी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले पनि उद्योग परिसरको अवलोकन गरी आवश्यक जानकारी संकलन गरेको बताइएको छ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएकी थिइन्। उनले रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ पुनः सञ्चालन गरिने र त्यससँग सम्बन्धित बुटवल धागो उद्योग तथा कपास खेती कार्यक्रमसमेत पुनर्जीवित गरिने उल्लेख गरेकी थिइन्।
उद्योग बन्द भएपछि यसको विशाल परिसर २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गणको आवास तथा सुरक्षा व्यवस्थापनका लागि प्रयोग हुँदै आएको छ। सशस्त्र प्रहरी तैनाथ हुनुअघि उद्योग परिसरको सुरक्षाका लागि दुई कर्मचारी मात्र खटिने गरेका थिए। त्यतिबेला परिसर लागुऔषध प्रयोगकर्ताहरूको अखडाका रूपमा समेत चिनिन थालेको थियो।
हाल भने सशस्त्र प्रहरीको उपस्थितिका कारण उद्योग परिसर सुरक्षित रहेको छ। उद्योग पुनः सञ्चालनको सरकारी तयारीसँगै हालै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा परिसर सरसफाइ तथा व्यवस्थापन अभियानसमेत सञ्चालन गरेका छन्।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनले स्वदेशी कपडा उत्पादन, रोजगारी सिर्जना तथा औद्योगिक पुनर्जागरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।