काठमाडौँ । राजधानी उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि प्रहरीले निगरानी थप कडा बनाएको छ। पछिल्लो २४ घण्टाको अवधिमा मात्रै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६४१ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा गाडी कुदाउने, ट्राफिक बत्ती उल्लङ्घन गर्ने तथा नियमविपरीत राइड सेयरिङ गर्ने चालकहरूलाई विशेष निगरानीमा राखेर कारबाही गरिएको हो।
तथ्यांक अनुसार ७९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अवस्थामा पक्राउ परेका छन् भने १४७ जनाले नियमविपरीत राइड सेयरिङ गरेको भेटिएको छ। त्यस्तै १५४ जनाले ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गरेका छन् भने १२२ जना तीव्र गतिमा सवारीसाधन चलाएको अभियोगमा कारबाहीमा परेका छन्।
सडक अनुशासन उल्लङ्घन गर्नेको संख्या पनि उल्लेख्य देखिएको छ। लेन अनुशासन पालना नगर्ने ११९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११३ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११९ जना, तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जना चालकलाई समेत कारबाही गरिएको छ।
यसबाहेक विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६८८ जना चालक पनि प्रहरीको कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले बढ्दो सवारी चाप, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित अनुगमन र कारबाहीलाई अझ तीव्र बनाइने जनाएको छ। कार्यालयले सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घनले आर्थिक दण्ड मात्र नभई मानवीय क्षति समेत निम्त्याउन सक्ने चेतावनी दिएको छ।