काठमाडौं l ठकुरी समाज महासंघ नेपाल को नवनिर्वाचित राष्ट्रिय समितिको प्रथम बैठक आज (सोमबार) अध्यक्ष सकुन्तला शाहीको अध्यक्षता तथा निवर्तमान अध्यक्ष खिमबहादुर शाहीको विशेष उपस्थितिमा नवलपुरमा सम्पन्न भएको छ। बैठकले संगठनको भावी कार्यदिशा, प्रशासनिक व्यवस्थापन तथा संस्थागत सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्दै पाँच महत्वपूर्ण निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ।
बैठकमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने महासंघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा सदस्यहरूले सहभागिता जनाउँदै संगठनको आगामी योजनाबारे धारणा राखेका थिए।
बैठकको पहिलो एजेन्डाअनुसार नव निर्वाचित राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूबीच आपसी परिचय कार्यक्रम सम्पन्न गरिएको थियो, जसले नयाँ नेतृत्वबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
त्यसैगरी दोस्रो एजेन्डामा महासंघको Rastriya Banijya Bank बालाजु शाखामा रहेको बैंक खाताको हस्ताक्षर परिवर्तन सम्बन्धमा विस्तृत छलफल गर्दै नयाँ कार्यसमिति निर्वाचित भइसकेकाले अबदेखि अध्यक्ष सकुन्तला शाही, महासचिव राम मल्ल ठकुरी तथा कोषाध्यक्ष सुनिता सेनको संयुक्त हस्ताक्षरमार्फत बैंक कारोबार सञ्चालन गर्ने निर्णय गरिएको छ। उक्त निर्णयअनुसार कोषाध्यक्षको हस्ताक्षर अनिवार्य रहने र बैंक खातासँग सम्बन्धित एसएमएस सेवा कोषाध्यक्षको मोबाइल नम्बरमा प्राप्त हुने व्यवस्था गर्न बैंकलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ।
तेस्रो निर्णयअन्तर्गत महासंघमा रिक्त रहेको सह-कोषाध्यक्ष पदमा तनहुँकी सीता कुमारी शाही ठकुरीलाई सर्वसम्मत रूपमा मनोनयन गरिएको छ। यस निर्णयले संगठनमा महिला नेतृत्वको सहभागिता अझ सशक्त बनेको महासंघले जनाएको छ।
यस्तै चौथो निर्णयमा महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तित्व तथा संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ।
विशेषगरी प्रमुख अतिथिका रूपमा उपस्थित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही, सह-आयोजकको भूमिका निर्वाह गर्ने ठकुरी कल्याण समाज नवलपुर, विभिन्न जिल्लाका जिल्ला अध्यक्ष, महाधिवेशन प्रतिनिधि, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ।
बैठकको अन्तिम चरणमा अन्य कुनै थप विषय नरहेकाले अध्यक्ष सकुन्तला शाहीले संगठनलाई एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक समापन गर्नुभएको थियो।
नवनिर्वाचित नेतृत्वको यो पहिलो बैठकले ठकुरी समाज महासंघ नेपाललाई आगामी दिनमा अझ सशक्त, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने स्पष्ट संकेत दिएको उक्त समाजका नेता रबि शाहले बताएका छन्।

