धनगढी । देशभर सडक सञ्जाल विस्तारलाई विकासको प्रमुख सूचक मानिए पनि सुदूरपश्चिमका धेरै दुर्गम बस्तीहरू अझै पनि सडक पहुँचबाट टाढा छन्। प्रदेशका ८८ स्थानीय तहमध्ये केही स्थानीय तहमा आजसम्म पनि भरपर्दो सडक सञ्जाल पुग्न सकेको छैन। सरकारका योजना र प्रतिबद्धताबीच पहाडी तथा हिमाली क्षेत्रका हजारौँ नागरिक अहिले पनि घण्टौँ पैदल यात्रा गर्न बाध्य छन्।
विशेषगरी सडक पहुँचको अभावले सबैभन्दा बढी प्रभावित स्थानीय तहमध्ये एक बनेको छ। दुर्गम भूगोलका कारण यहाँका नागरिक दैनिक जीवनका अत्यावश्यक सामग्रीदेखि खाद्यान्नसम्म पिठ्युँमा बोकेर वा खच्चरमार्फत ढुवानी गर्न विवश छन्। ठाडा उकालो र जोखिमपूर्ण बाटोमा भारी बोकेर जीविकोपार्जन गर्ने स्थानीयहरू सडक निर्माण भए जीवन सहज हुने अपेक्षामा छन्।
गाउँपालिका-३ की स्थानीय रुपा धामीका अनुसार सडक नहुँदा गाउँमा उत्पादित कृषि तथा पशुजन्य वस्तुले बजार पाउन सकेका छैनन्। यातायात सुविधा भए स्थानीय उत्पादनको मूल्य बढ्ने र आम्दानीका नयाँ अवसर सिर्जना हुने उनको विश्वास छ।
सडकको अभावले यहाँको जनजीवन मात्र होइन, स्वास्थ्य सेवा पनि गम्भीर रूपमा प्रभावित बनेको छ। बिरामी पर्दा एम्बुलेन्स पुग्ने अवस्था छैन। स्थानीयहरूले बिरामीलाई डोको, स्ट्रेचर वा काँधमा बोकेर घण्टौँ हिँड्दै अस्पताल पुर्याउनुपर्ने अवस्था छ। समयमै उपचार नपाएर बाटोमै ज्यान गुमाउने घटना समेत दोहोरिने गरेका छन्।
विकासका ठूलाठूला बहस र योजनाबीच अपिहिमालका नागरिकहरू भने अझै पनि आधारभूत पूर्वाधारको प्रतीक्षामा छन्। सडक नहुँदाको पीडा, सीमित अवसर र कठिन जनजीवनले राज्यको विकास यात्रा अझै दुर्गम बस्तीहरूमा पुग्न नसकेको यथार्थ उजागर गरेको छ। सुदूरपश्चिमका हिमाली गाउँहरूमा सडक केवल यातायातको माध्यम मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिसँग जोडिएको जीवनरेखा बनेको छ।