काठमाडौं । देशका विभिन्न क्षेत्रमा मनसुनी वायु सक्रिय बन्दै जाँदा मौसममा मिश्रित अवस्था देखिएको छ। एकातिर पूर्वी तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने अर्कोतर्फ तराईका केही भूभागमा तातो लहर र तापक्रम वृद्धि हुने चेतावनी जारी गरिएको छ।
अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
हाल कोशी प्रदेशमा व्यापक बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ। कोशी प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई तथा मधेसका केही क्षेत्रमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र भने गर्मीको उच्च प्रभावमा रहने देखिएको छ। मौसमविद्हरूले ती क्षेत्रमा तातो लहर चल्न सक्ने र तापक्रम थप बढ्न सक्ने चेतावनी दिएका छन्। बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि तापक्रम वृद्धि हुने सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहने र केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। मधेस तथा अन्य प्रदेशका अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले चट्याङ, वर्षा, तातो लहर र तापक्रम वृद्धिका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन पनि अनुरोध गरेको छ।