खोटाङ । खेतीबालीमा बाँदरको बढ्दो आतंकले किसानहरू हैरान भइरहेका बेला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले समस्या समाधानका लागि नयाँ योजना अघि सारेको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ परिचालन गर्ने कार्यक्रमसहित विशेष बजेट विनियोजन गरेको छ।
१५औँ नगरसभामा प्रस्तुत बजेटअनुसार बाँदरलगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्न ४५ लाख रुपैयाँ छुट्याइएको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै कुल एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट विनियोजन गरिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या नियन्त्रणका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको छ। उनले बाँदर नियन्त्रणका लागि संघीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गरेर अल्पकालीन र दीर्घकालीन योजना समेत तयार गरिएको जानकारी दिए।
कृषि उत्पादन बढाउने लक्ष्यसहित नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ नामक विशेष कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक परामर्श, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिनेछ।
कृषिप्रधान जिल्लामा बाँदर आतंक किसानका लागि वर्षौंदेखिको चुनौती बनेको अवस्थामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ‘बाली हेरालु’ अवधारणा प्रभावकारी कार्यान्वयन भएमा किसानको उत्पादन संरक्षण र कृषि क्षेत्रमा उत्साह थप्ने अपेक्षा गरिएको छ। किसानहरू भने अब बजेट घोषणाभन्दा पनि कार्यक्रमको व्यवहारिक कार्यान्वयनतर्फ आशावादी बनेका छन्।