कपिलवस्तु l कपिलवस्तुमा धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भावको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै ऐतिहासिक मुहर्रम पर्व श्रद्धा, सम्मान र उत्साहका साथ मनाइएको छ। मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व मुहर्रमका अवसरमा जिल्लाका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायको संयुक्त सहभागिताले धार्मिक एकता र सामाजिक सद्भावको सशक्त सन्देश दिएको छ।
पर्वको अवसरमा दुवै समुदायका नागरिकहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए। मुस्लिम धर्मावलम्बीहरूले हजरत मोहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) का नवासा (नाति) हजरत इमाम हुसैनको सम्झनामा विशेष रोजा (व्रत) बसेर नमाज अदा गर्नुका साथै मस्जिदहरूमा पवित्र कुरान पाठ तथा दुआ प्रार्थना गरेका थिए। यस अवसरमा देशमा स्थायी शान्ति, समृद्धि, सद्भाव र मानव कल्याणको कामना समेत गरिएको थियो।
जिल्लाभर रहेका सयभन्दा बढी कर्बलाहरूमा लाग्ने परम्परागत मेलामा हजारौँ श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। मुस्लिम धर्मगुरुहरूका अनुसार करिब १४ सय वर्षअघि कर्बलाको युद्धमा इमाम हुसैनले सत्य, न्याय र इस्लाम धर्मको रक्षाका लागि संघर्ष गर्दा महिला, वृद्ध र अबोध बालबालिकासहित ७२ जना परिवारजन तथा अनुयायीहरूले शहादत प्राप्त गरेका थिए। अन्याय र अत्याचारविरुद्धको यही ऐतिहासिक बलिदानको स्मरण र सम्मानस्वरूप विश्वभर मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने परम्परा रहँदै आएको छ।
शहादतको स्मरणमा स्थापित ताजियालाई श्रद्धापूर्वक विभिन्न कर्बलाहरूमा विसर्जन गरिएको थियो। स्थानीय जनविश्वासअनुसार ताजियाको दर्शन तथा भाकल गर्दा पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका कारण हिन्दू समुदायको समेत उल्लेखनीय सहभागिता रहने गरेको छ।
मुहर्रमको विशेष रौनक सदरमुकाम तौलिहवामा देखिएको थियो। तौलिहवास्थित विभिन्न घरहरूमा राखिएका ताजियालाई नगर परिक्रमा गराई कपिलवस्तु नगरपालिका-१ स्थित कर्बलामा विसर्जन गरिएको थियो। सो क्रममा मुस्लिम समुदायका युवाहरूले “या अली, या हुसैन” को नारा लगाउँदै परम्परागत युद्धकलाको आकर्षक प्रदर्शन गरेका थिए।
धार्मिक तथा सांस्कृतिक एकताको सुन्दर उदाहरण प्रस्तुत गर्दै उक्त कार्यक्रममा हिन्दू समुदायका स्थानीयहरूले ढोल, तासा र नगाडा बजाएर मुस्लिम समुदायलाई साथ दिएका थिए। साथै कपिलवस्तु नगरपालिका-१ स्थित मस्जिद टोलका स्थानीयहरूले श्रद्धालुहरूका लागि खीर, पानीलगायत विभिन्न परिकार वितरण गरेका थिए।
अरबी पात्रोअनुसार हिजरी संवत्को पहिलो महिना मुहर्रमको दशौँ दिन अर्थात् आशुराको अवसरमा विशेष कुरान पाठ गर्ने, रोजा बस्ने तथा बेलुकाको समयमा खिचडा पकाएर खाने परम्परा रहिआएको छ।
कपिलवस्तुमा परापूर्वकालदेखि कायम रहेको साझा सहभागिता र धार्मिक सहिष्णुताको यो अभ्यासले नेपाली समाजको धर्मनिरपेक्षता, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देशलाई अझ सशक्त बनाएको स्थानीयवासीहरू बताउँछन्।
यसैबीच मुहर्रम पर्वको गरिमा र संवेदनशीलतालाई सम्मान गर्दै कपिलवस्तु नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको थियो। नगरपालिकासँगै जिल्लाका अन्य केही स्थानीय तहहरूले समेत मुहर्रमको अवसरमा स्थानीय बिदा घोषणा गरेका थिए।
कपिलवस्तुमा देखिएको हिन्दू–मुस्लिम समुदायबीचको यो सहकार्य र सम्मानको परम्पराले विविधताबीच एकता कायम गर्दै नेपाली समाजलाई धार्मिक सद्भाव र सामाजिक सहअस्तित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।