अर्घाखाँची l सूचना प्रविधिको तीव्र विकाससँगै विश्वभर पत्रकारिताको स्वरूप बदलिँदै गइरहेको सन्दर्भमा अर्घाखाँचीका पत्रकारहरू पनि आधुनिक प्रविधिसँग अभ्यस्त हुने अभियानमा जुटेका छन् । यही उद्देश्यका साथ जिल्ला शाखा अर्घाखाँचीको आयोजना तथा नगर कार्यपालिका कार्यालय, ठाडाको सहयोगमा कृत्रिम बुद्धिमता (Artificial Intelligence) सम्बन्धी दुई दिने विशेष तालिम कार्यक्रम आजदेखि शुरू भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीस्थित क्याम्प फायर रिसोर्ट मा आयोजित उक्त तालिम कार्यक्रम जेठ १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाभर विभिन्न सञ्चार माध्यममा कार्यरत क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको यस तालिमले स्थानीय पत्रकारितालाई डिजिटल युगसँग जोड्ने अपेक्षा गरिएको छ ।
तालिम उद्घाटन सत्रमा वक्ताहरूले बदलिँदो विश्व परिवेशमा पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमताको बढ्दो प्रभाव, यसको अवसर तथा जिम्मेवारीपूर्ण प्रयोगका विषयमा विशेष जोड दिएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूलाई ल्यापटप तथा प्रोजेक्टरमार्फत समाचार संकलन, तथ्य खोज, सामग्री लेखन, सम्पादन, अनुसन्धान तथा डिजिटल कन्टेन्ट निर्माणमा एआई प्रविधिको व्यावहारिक प्रयोग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य तथा महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष शोभाखर पन्थी ले पत्रकारिता अब केवल परम्परागत माध्यममा सीमित नरहेको उल्लेख गर्दै प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको धारणा राखेका थिए ।
त्यसैगरी तालिमका प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमताको सही र सिर्जनात्मक प्रयोगले पत्रकारितालाई अझ प्रभावकारी, छिटो र अनुसन्धानमुखी बनाउन सकिने बताउनुभयो । जिल्ला अध्यक्ष गणेश खनालले जिल्लाभरका सक्रिय पत्रकारहरूलाई एकै स्थानमा ल्याएर आधुनिक प्रविधिसम्बन्धी ज्ञान हस्तान्तरण गर्नु समयसापेक्ष र अत्यन्त सार्थक पहल भएको उल्लेख गरे ।
महासंघका अनुसार पत्रकारहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त गराउँदै डिजिटल पत्रकारितामा दक्ष बनाउने उद्देश्यले आयोजित यो तालिम आगामी दिनमा अझ विस्तार गरिनेछ । आयोजकहरूले भविष्यमा पनि यस्ता प्रविधिमूलक, सीपमूलक तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूचना प्रविधिको युगमा कृत्रिम बुद्धिमता अब केवल विकल्प होइन, आवश्यकता बनिसकेको अवस्थामा अर्घाखाँचीका पत्रकारहरूको यो पहललाई स्थानीय पत्रकारितालाई आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय बनाउने महत्वपूर्ण कदम का रूपमा हेरिएको छ ।