कपिलवस्तु । सरकारले वर्षौँअघि नेपाललाई लोडसेडिङमुक्त घोषणा गरे पनि कपिलवस्तुको तौलिहवा र आसपासका क्षेत्रमा अनियमित विद्युत आपूर्ति अझै पनि स्थानीयवासीका लागि दैनिक पीडाको विषय बनेको छ। चर्को गर्मीका बीच पूर्वसूचनाविना पटक–पटक लाइन जाने, कमजोर भोल्टेज आउने र लामो समयसम्म विद्युत अवरुद्ध हुने समस्याले सर्वसाधारण, विद्यार्थी तथा उद्योगी–व्यवसायी सबै प्रभावित भएका छन्।
हाल कपिलवस्तुमा तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ। यस्तो अवस्थामा एसी, पंखा, कुलर र फ्रिजजस्ता अत्यावश्यक विद्युतीय उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जनजीवन कष्टकर बनेको स्थानीयको गुनासो छ।
विद्युतको अनियमितताले शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको छ। तौलिहवाका केही विद्यालयहरूले अत्यधिक गर्मी र बारम्बार हुने विद्युत अवरोधका कारण विद्यार्थीहरूलाई कक्षाकोठामा बस्नै कठिन भएको बताएका छन्। यसले पठनपाठनको वातावरण नै प्रभावित बनाएको विद्यालय प्रशासनको भनाइ छ।
उद्योग तथा व्यापार क्षेत्रमा पनि समस्या उस्तै गम्भीर छ। स्थानीय उद्योगी–व्यवसायीका अनुसार बारम्बार विद्युत कटौती हुँदा उत्पादन प्रक्रिया अवरुद्ध हुने, मेसिनरी उपकरणमा क्षति पुग्ने र ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। उनीहरूले विद्युत आपूर्ति प्रणालीलाई तत्काल व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीय उपभोक्ताहरूले मर्मत, क्षमता अभाव वा अन्य कुनै कारणले विद्युत कटौती गर्नुपर्ने भए कम्तीमा पूर्वसूचना र स्पष्ट समयतालिका सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरू भन्छन्, “लोडसेडिङ हटेको भनिए पनि वास्तविकता भने दिनहुँको अनियमित विद्युत आपूर्तिमै सीमित छ।”
यता नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले भने लोडसेडिङ गर्ने अवस्था नरहेको दाबी गर्दै ट्रान्सफर्मर बिग्रिने, तार चुडिने, आगलागी तथा अन्य प्राविधिक समस्याका कारण कहिलेकाहीँ विद्युत अवरुद्ध हुने गरेको जनाएको छ। कार्यालयका अनुसार वितरण प्रणाली सुधारका लागि निरन्तर काम भइरहेको छ।
तर गर्मीको चरम समयमा पनि नियमित विद्युत आपूर्ति हुन नसक्दा स्थानीयवासीले तत्काल राहत र दीर्घकालीन समाधानको माग तीव्र बनाएका छन्। उनीहरूको प्रश्न एउटै छ- ‘लोडसेडिङ अन्त्य भएको भनिए पनि कपिलवस्तुमा अझै किन दिनहुँ बत्ती जान्छ ?’