काठमाडौं l नेपाली कृषकहरूको महान् पर्वका रूपमा मनाइने २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज देशभर विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विभिन्न सरकारी निकाय, स्थानीय तह तथा कृषि क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको समन्वयमा देशका विभिन्न स्थानमा सामूहिक रोपाइँ, जनचेतनामूलक कार्यक्रम र सांस्कृतिक गतिविधि आयोजना गरिएको हो।
यस वर्ष ‘जलवायु अनुकूलित उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ। जलवायु परिवर्तनका कारण देखिएको अनियमित वर्षा, खडेरी र प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै जलवायु अनुकूल धानका उन्नत जात, आधुनिक प्रविधि तथा वैज्ञानिक खेती प्रणालीको प्रयोगमा विशेष जोड दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
असार १५ नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा पनि विशेष महत्व राख्छ। खेतमा दिनभर श्रम गर्ने किसानहरूले ऊर्जा र शीतलताका लागि दही–चिउरा खाने परम्परा आज पनि निरन्तर रहेको छ।
काठमाडौं उपत्यकाका कीर्तिपुर, भक्तपुर, ललितपुर लगायत देशका प्रमुख धान उत्पादन हुने क्षेत्रमा किसान, युवा तथा विदेशी पर्यटकसमेत असारे गीतको लयमा हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएका थिए। यसले नेपाली कृषि संस्कृति र परम्परालाई थप जीवन्त बनाएको देखिन्छ।
आत्मनिर्भरताका लागि आधुनिक कृषिमा जोड
कृषि विज्ञहरूका अनुसार नेपालको अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहे पनि सिँचाइको अभाव, गुणस्तरीय बीउ र मलको समयमै उपलब्धता नहुनु तथा आधुनिक प्रविधिको सीमित प्रयोगका कारण देश अझै धानमा पूर्ण आत्मनिर्भर बन्न सकेको छैन।
उनीहरूका अनुसार वर्षाको भरमा मात्र खेती गर्ने परम्परालाई क्रमशः अन्त्य गर्दै आधुनिक सिँचाइ प्रणाली, यान्त्रिकीकरण, उन्नत बीउ तथा वैज्ञानिक खेती प्रविधिको विस्तार गर्न सके उत्पादनमा उल्लेखनीय वृद्धि सम्भव हुनेछ।
कृषि मन्त्रालयले पछिल्ला वर्षहरूमा चैते धानको क्षेत्रफल र उत्पादकत्वमा सुधार आएको जनाएको छ। किसानलाई अनुदान, आधुनिक कृषि उपकरण, उन्नत बीउबिजन तथा प्राविधिक सहयोग उपलब्ध गराएर धान उत्पादन वृद्धि गर्ने सरकारी लक्ष्य रहेको मन्त्रालयको भनाइ छ।
नेपालको धान खेती करिब १४-१५ लाख हेक्टर उत्पादनमा प्रभाव पार्ने प्रमुख पक्ष: मनसुनी वर्षा, सिँचाइ सुविधा र कृषि प्रविधि यस वर्षको राष्ट्रिय नारा: ‘जलवायु अनुकूलित उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ’ सरकारले किसानमैत्री नीति, समयमै मल-बीउको उपलब्धता, सिँचाइ विस्तार तथा आधुनिक कृषि प्रविधिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवालाहरूको धारणा छ।
यस वर्ष समयमै मनसुन सक्रिय भएकाले देशभर रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ, जसले आगामी धान उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।