अर्घाखाँची l पहाडी जिल्लामा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा स्थापना गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । सीमित स्रोत-साधन, भौगोलिक विकटता र अनेक कठिनाइका बीच दलबहादुर केसीले आफ्नो दृढ संकल्प, इमानदार प्रयास र सेवाभावका माध्यमबाट अर्घाखाँचीमा स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु गरेका छन् । आज उनी सफल स्वास्थ्य उद्यमीका रूपमा मात्र होइन, हजारौँ नागरिकका लागि आशा, भरोसा र विश्वासका प्रतीक बनेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका पूर्वकर्मचारी केसीले सरकारी सेवाबाट प्राप्त सीमित आम्दानीलाई व्यक्तिगत सुविधा वा विलासितामा खर्च नगरी स्वास्थ्य क्षेत्रमा लगानी गर्ने साहसी निर्णय गरे । त्यही दूरदृष्टि, निरन्तर संघर्ष र अथक मेहनतको परिणामस्वरूप स्थापना भएको छाया विशेषज्ञ अस्पताल आज अर्घाखाँचीसहित आसपासका पहाडी जिल्लाका नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवाको भरपर्दो गन्तव्य बनेको छ ।
यस यात्रामा उनकी धर्मपत्नी नर्मदा केसी, जो स्वयं स्वास्थ्यकर्मी हुन्, को निरन्तर साथ, प्रेरणा र समर्पण उल्लेखनीय रह्यो । परिवारको यही साझा प्रतिबद्धताले अस्पताललाई अझ व्यवस्थित र सेवामुखी बनाउँदै लग्यो ।
दलबहादुर केसीको सपना अहिले नयाँ पुस्ताले पनि निरन्तरता दिएको छ । उनका छोरा डा. प्रदीप जंग केसी (वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ) र बुहारी डा. निता श्रेष्ठ (वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ) ले राजधानी र बुटवलमा मात्र सीमित हुन सक्ने अवसरलाई छाडेर आफ्नै जिल्लाका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यका साथ छाया विशेषज्ञ अस्पतालमा सेवा सुरु गरेका छन् । उनीहरूको योगदानले अस्पतालको सेवा थप प्रभावकारी र विश्वासिलो बनेको छ ।
अस्पतालमा सीटी स्क्यान, २४ सै घण्टा आकस्मिक सेवा, मुटुरोग, महिला तथा प्रसूति, आधुनिक प्रयोगशाला, डिजिटल एक्स-रे, ईसीजी, इको, फिजियोथेरापी, अर्थोपेडिक तथा विभिन्न शल्यक्रिया लगायतका अत्याधुनिक सेवा सञ्चालनमा छन् । यसले सामान्यदेखि जटिल उपचारका लागि बुटवल, काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रदीप जंग केसीका अनुसार अर्घाखाँचीमै अहिले बुटवल र काठमाडौंका प्रतिष्ठित अस्पतालमा उपलब्ध हुने अधिकांश विशेषज्ञ सेवा प्रदान भइरहेको छ । यसबाट बिरामीको समय, आर्थिक भार र उपचारका क्रममा हुने सास्तीमा ठूलो कमी आएको छ ।
दलबहादुर केसीको जीवनयात्रा संघर्ष, इमानदारी, दूरदृष्टि र समाजप्रतिको समर्पणको प्रेरणादायी उदाहरण हो । उनले स्थापना गरेको छाया विशेषज्ञ अस्पताल केवल एउटा स्वास्थ्य संस्था होइन, अर्घाखाँचीका नागरिकको जीवनसँग जोडिएको विश्वासको केन्द्र बनेको छ । पहाडी जिल्लामै आधुनिक स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै केसीले स्वास्थ्य सेवामार्फत समाज रूपान्तरणको अनुकरणीय अभियानलाई सफलतापूर्वक अघि बढाइरहेका छन् ।