बुटवल l लोकतन्त्रको सुदृढीकरण, समाज रुपान्तरण र जनचेतना विस्तारमा पत्रकारिताले खेलेको महत्वपूर्ण भूमिकाको सम्मानस्वरूप रुपन्देही शाखाले यस वर्ष तीन जना क्रियाशील पत्रकारलाई प्रतिष्ठित पुरस्कारद्वारा सम्मान गरेको छ ।
बुटवल उप - महानगरपालिकाको सहकार्यमा स्थापना गरिएको “उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२” तथा “सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार-२०८२” विशेष समारोहका बीच सोमबार बुटवलमा प्रदान गरिएको हो ।
यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२ बाट सक्रिय पत्रकार अमृत गिरी सम्मानित भएका छन् l पत्रकारिता क्षेत्रमा निरन्तर समर्पण र प्रभावशाली योगदानको कदर गर्दै उनलाई नगद १ लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ । उनी हाल मेचीकाली दैनिक मा आबद्ध छन् ।
त्यसैगरी “सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार-२०८२” बाट पत्रकार छवि पाण्डेय र माया केसी सम्मानित भएका छन् । दुवैले पत्रकारितामा पुर्याएको योगदानको मूल्यांकन गर्दै जनही ५० हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्राप्त गरेका छन् । पाण्डेय गोरखापत्रसँग आबद्ध छन् भने माया केसी बुटवल टुडे दैनिक मा कार्यरत छिन् ।
सम्मान समारोहमा तथा उपप्रमुख ले पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै स्वतन्त्र, तथ्यमा आधारित र जनउत्तरदायी पत्रकारिताको महत्वबारे धारणा व्यक्त गरेका थिए ।
महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे ले पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान गर्ने श्रमशील पत्रकारहरूको हौसला अभिवृद्धि गर्न यस्तो पुरस्कार स्थापना गरिएको बताए ।
कार्यक्रममामा केन्द्रीय उपाध्यक्ष नितु पण्डित, केन्द्रीय सदस्य रामराज पोखरेल तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायतले व्यावसायिक, मर्यादित र निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै पुरस्कृत पत्रकारहरूलाई बधाई दिएका थिए । पत्रकारिताको सम्मानसँगै सत्य, निष्पक्षता र उत्तरदायित्वप्रति समाजको विश्वास अझ बलियो बनाउने सन्देश यो समारोहले दिएको छ