लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका-५ बेनिनगर क्षेत्रमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल शङ्काको आधारमा जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मोटरसाइकलमा लुकाएर ल्याइँदै गरेका एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरिएको हो।
बरामद गरिएका आइफोन र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । भारतसँग खुला सीमा जोडिएको रुपन्देही क्षेत्रमा पछिल्लो समय मोबाइल, इलेक्ट्रोनिक सामान तथा अन्य वस्तुको अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।