काठमाडौं । रसुवा भन्सारमा भएको गाडी जाँचपास प्रकरणपछि अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको सोमबारको मन्त्रिस्तरीय निर्णयअनुसार भण्डारीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
रसुवा भन्सारबाट जेठ १५ आसपास भएका गाडी जाँचपासमा अनियमितता तथा त्रुटि देखिएपछि यसअघि १३ कर्मचारीमाथि कारबाही भइसकेको थियो । उक्त घटनामा विभागीय नेतृत्वको नैतिक जिम्मेवारी समेत रहने निष्कर्षसहित महानिर्देशक भण्डारीलाई मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ ।
भण्डारी मन्त्रालय सरुवा भएसँगै भरतमणि पाण्डेलाई भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । भण्डारीले २०८२ भदौ १ गतेदेखि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । पछिल्लो निर्णयलाई भन्सार प्रशासनमा जवाफदेहिता र प्रशासनिक कडाइका रूपमा हेरिएको छ ।