काठमाडौं । प्रहरी भएको झूटो परिचय दिई एक व्यक्तिलाई नियन्त्रणमा लिएर करिब ११ लाख रुपैयाँ नगद, मोबाइल फोन र बैंकका चेक लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार ९ गते साँझ करिब ७ बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका शेरबहादुर मोक्तानको डेरामा घटना भएको थियो।
सोही समयमा सर्लाहीको लालबन्दी नगरपालिका–८ निवासी धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौं आएका थिए। त्यसक्रममा ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको भन्दै नियन्त्रणमा लिएको, हतकडी लगाएको र धम्की तथा त्रास देखाएर उनीसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का रामशरण दमाई (४३), टोखा नगरपालिका–१ का सविन खवास (३८), पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्ने लक्ष्मी गोले (४३) तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई वनस्थली बस्ने शेरबहादुर मोक्तान (४६) रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई लाख रुपैयाँ नगद (एक हजार दरका नोट) बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले थप अनुसन्धान अघि बढाइरहेको छ।