अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवाको पहुँच जिल्लास्तरमै विस्तार गर्ने अभियानअन्तर्गत अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी पूरा गर्ने चरणमा पुगेको छ। सेवा सुरु भएसँगै जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले अब नियमित डायलासिसका लागि बुटवल, काठमाडौं वा अन्य जिल्लाको धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ।
अस्पतालमा आवश्यक पूर्वाधार निर्माण, अत्याधुनिक उपकरण जडान तथा प्राविधिक व्यवस्थापनका काम तीव्र गतिमा अघि बढिरहेका छन्। अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलासिस सेवाको गुणस्तर सुनिश्चित गर्न अनिवार्य मानिने आरओ (रिभर्स अस्मोसिस) पानी शुद्धीकरण प्रणाली जडानको काम सुरु भइसकेको छ। प्रारम्भिक चरणमा पाँच वटा डायलासिस मेसिनबाट सेवा सञ्चालन गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
हाल अर्घाखाँचीका मृगौला रोगीहरू नियमित उपचारका लागि जिल्लाबाहिर जान बाध्य छन्। सेवा सञ्चालनपछि बिरामीको समय, खर्च र मानसिक तनाव उल्लेख्य रूपमा घट्ने तथा उपचारमा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्लास्तरमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार यो कार्यक्रम अघि बढाएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको गृहजिल्ला अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण र विशेषज्ञ सेवा विस्तारले तीव्रता पाएको छ।
डायलासिस सेवा सञ्चालनमा आएपछि अर्घाखाँची अस्पतालले जिल्लावासीलाई थप गुणस्तरीय र जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै लुम्बिनी प्रदेश सरकारको जनमुखी स्वास्थ्य अभियानमा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ।