काठमाडौं l सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत रहेको जानकारी दिनुभयो।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रीपरिषद्ले 'विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३', 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३' र 'कारागार नियमावली, २०८३' लाई समेत स्वीकृति दिएको छ।
यसका साथै, बैठकले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ताले जानकारी दिनुभयो।