काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका अग्रणी नेता, सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला सदस्य ऋषभ अधिकारीको पशुपति आर्यघाट
मा राजनैतिक तथा सामाजिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
अन्त्येष्टि कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ता, जनप्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी संगठन सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा जनप्रतिनिधिका रूपमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गरेका थिए।
श्रद्धाञ्जली सभामा दिवंगत आत्माको चिरशान्ति तथा बैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। विशेषगरी उहाँका भाइ मुकुन्द अधिकारी, श्रीमतीहरू, भाउजू कमला अधिकारी तथा सम्पूर्ण परिवारजनप्रति उपस्थित नेता–कार्यकर्ता र शुभेच्छुकहरूले हार्दिक समवेदना प्रकट गरेका थिए।
सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला सदस्य ऋषभ अधिकारीको २०८३ साल असार ३० गते ७० वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो।
स्वर्गीय अधिकारीका दुई श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उहाँको निधनसँगै नेपाली कांग्रेस अर्घाखाँचीले एक अनुभवी, निष्ठावान, इमानदार तथा जनप्रिय नेता गुमाएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
राजनीतिक जीवनभर लोकतान्त्रिक मूल्य-मान्यता, संगठन निर्माण र जनसेवाप्रति समर्पित रहनुभएका अधिकारीको योगदान अर्घाखाँचीको राजनीतिक इतिहासमा दीर्घकालसम्म सम्मानका साथ स्मरण गरिने विश्वास व्यक्त गरिएको छ।









