काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड प्रतिस्थापन प्रक्रियालाई थप सहज बनाउँदै अनलाइनमार्फत नयाँ फिजिकल सिम वा ई–सिम प्राप्त गर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि लागू भएको यस सेवामार्फत सेवाग्राहीले घरमै बसेर आवश्यक विवरण भरेपछि सिम प्रतिस्थापनका लागि आवेदन दिन सक्नेछन्।
टेलिकमका अनुसार सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भर्नुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि सम्बन्धित ग्राहक स्वयं वा पूर्वअनुमति दिइएको प्रतिनिधिमार्फत टेलिकमको काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ सिम लिँदा ५० रुपैयाँ शुल्क काउन्टरमै तिर्नुपर्नेछ। यदि ग्राहक स्वयं उपस्थित हुन नसकेमा फाराममै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्नेछ। ग्राहकको गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमले सञ्चालनमा ल्याएको ई–सिम पोर्टल मार्फत हराएको वा बिग्रेको सिम प्रतिस्थापन मात्र नभई नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम लिन तथा ग्राहकको केवाईसी (KYC) विवरण अद्यावधिक गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ।