काठमाडौं । निहारिका राजपुत र विनु यादवले शनिबार (साउन २) सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिएका छन् ।
गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध गरिएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टी बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग निहारिकाले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र वालेन्द्र शाह (बालेन) अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् । पीडितले सिंहदरबार प्रवेशका निम्ति पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे ।
धर्नाका क्रममा प्रहरीसँग ठेलमठेल हुँदा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ ।
निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डीएनए परीक्षण, मिलापत्रस्वरूप भएको विवाह र त्यसपछि भोग्नुपरेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताइन् ।
उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत ‘नाघेर गएको’ भन्दै आक्रोश व्यक्त गरे ।
आफ्ना मागको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढाएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।