काठमाडौं । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने मुख्य मागसहित युवा सडक आन्दोलनमा उत्रिएका छन् ।
समृद्ध नेपालको आधारका निम्ति आउँदो ०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने भन्दै युवाको एक समूहले शनिबार (साउन २) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद्, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग गरेका छन् ।
नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराध र त्यसको अनुसन्धान प्रक्रियालाई ध्यानमा राख्दै अपराधीका निम्ति कडा सजायको कानुनी व्यवस्था गरिनुपर्ने माग समेत उनीहरूको छ ।
सुकुम्वासी, भूमिहीन किसान र जग्गाको टुक्रा नभएका देशका वास्तविक नागरिकको समस्या सधैँका निम्ति उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरूको माग रहेको सडक आन्दोलनमा उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए ।
उनीहरूले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमको पुनर्लेखनमा पनि जोड दिएका छन् । सीप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्ने उनीहरूको माग छ ।