रसुवा । मनसुनका कारण पहिरो, सडक कटान र अन्य विपद्को जोखिम बढेपछि रसुवा जिल्लाका दुई प्रमुख सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्ला सुरक्षा समितिको निर्णय, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तथा राजमार्ग अवरोध व्यवस्थापन योजनाअनुसार वेत्रावती-मैलुङ-स्याफ्रुवेशीरसुवागढी सडक तथा पासाङ ल्हामु राजमार्गअन्तर्गत ग्राङदेखि धुन्चेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार भिरालो भू-बनोट, कमजोर चट्टान, माटोको अस्थिर अवस्था, नदी किनारका सडकमा हुन सक्ने कटान तथा निरन्तर वर्षाका कारण दुर्घटना र प्राकृतिक विपद्को जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको हो।
यो व्यवस्था साउन ४ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ। यद्यपि, एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न सकिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई जोखिमपूर्ण समयमा यात्रा नगर्न र मनसुन अवधिभर प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ।