काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक ‘बीमा नीति तथा कार्यक्रम’ सार्वजनिक गर्न ढिलाइ गरेको छ। गत वर्ष पहिलोपटक सुरु गरिएको यो अभ्यास यस वर्ष भने साउन लागिसक्दासमेत सार्वजनिक हुन नसकेको हो।
प्राधिकरणको ५७ वर्षे इतिहासमा पहिलोपटक तत्कालीन अध्यक्ष शरद ओझा नेतृत्वमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो। उक्त नीति तथा कार्यक्रम असारको अन्तिम साताभित्र सार्वजनिक गरिएको भए पनि यस वर्ष भने निर्धारित समयमै आउन सकेको छैन।
वार्षिक नीति तथा कार्यक्रमलाई बीमा क्षेत्रको मार्गदर्शक दस्तावेजका रूपमा हेरिन्छ। यसले प्राधिकरणका प्राथमिकता, उद्देश्य र कार्यदिशा स्पष्ट पार्नुका साथै बीमा कम्पनीहरूलाई सेवा, योजना र व्यवसायिक गतिविधि सञ्चालनमा मार्गनिर्देशन गर्ने भूमिका खेल्छ। साथै, सरोकारवालाले प्राधिकरणले घोषणा गरेका प्रतिबद्धता र कार्यान्वयनको प्रगति मूल्यांकन गर्ने आधार पनि यही दस्तावेज बन्ने गर्छ।
बीमा प्राधिकरणकी निर्देशक तथा प्रवक्ता पुजन ढुंगेल अधिकारीले भने नीति तथा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ नभएको दाबी गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्।
उनले ‘बीमा नीति तयार गर्ने काम भइरहेको छ, १–२ दिनभित्र सार्वजनिक हुन्छ’ भन्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताइन्।
बीमा क्षेत्रका सरोकारवालाले भने समयमै नीति तथा कार्यक्रम सार्वजनिक हुँदा नियामकीय स्पष्टता, कार्ययोजना कार्यान्वयन तथा बीमा बजारको विकासका लागि आवश्यक दिशानिर्देश समयमै प्राप्त हुने अपेक्षा गरेका छन्।