काठमाडौं । कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा मंगलबार बिहान भएको कार आगलागीमा एक पुरुषको जलेर मृत्यु भएको छ। कारभित्रै जलेको अवस्थामा भेटिएको शव प्रहरीले निकालेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ।
घटना बिहान करिब ११ः२० बजे भएको हो। बा.५ च ३०३८ नम्बरको सेतो रंगको किया कार अचानक आगलागी हुँदा चालक बाहिर निस्कन नपाई जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार कारधनीको पहिचान भइसकेको भए पनि मृत्यु भएका व्यक्ति कारधनी नै हुन् वा अन्य कोही हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले कार नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको जानकारी पनि प्राप्त गरेको जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार कार चाँदनी चोकमा आएर रोकिएलगत्तै गाडीभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको थियो। केही क्षणमै आगोले विकराल रूप लिएपछि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर अग्निनियन्त्रक यन्त्रको सहायताले आगो नियन्त्रणमा लिएका थिए। आगो निभाएपछि कारभित्र एक पुरुषको जलेको शव फेला परेको थियो।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी आगलागीको कारण, मृतकको पहिचान तथा घटनामा कुनै शंकास्पद पक्ष रहे–नरहेको विषयमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी वृत्त कीर्तिपुरले घटनाको अनुसन्धान गरिरहेको छ।