जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधाम भ्रमणका क्रममा मंगलबार जानकी मन्दिर परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। साम्पाङलाई स्वागत गर्न मन्दिर परिसरमा भेला भएका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई विभिन्न हिन्दूवादी संगठनसँग आबद्ध युवाले लखेटेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको हो।
घटनाका क्रममा हिन्दू सम्राट सेनाका कार्यकर्ताले हर्क साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने अडान लिएका थिए। दुवै पक्षबीच विवाद बढ्न थालेपछि प्रहरीले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो।
प्रहरीको हस्तक्षेपपछि हिन्दू सम्राट सेनाका कार्यकर्ताले प्लेकार्डसहित जानकी मन्दिरको मुख्य प्रवेशद्वार बाहिर धर्ना दिँदै विरोध प्रदर्शन गरेका थिए। त्यसका कारण केही समय मन्दिर आसपासको क्षेत्र तनावपूर्ण बनेको थियो।
श्रम संस्कृति पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका अध्यक्ष साम्पाङले जानकी मन्दिरमा दर्शन गर्ने तयारी गरेका थिए। तर आफ्ना कार्यकर्तामाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले मन्दिर प्रवेशलाई राजनीतिक विषय बनाउने प्रयास भएको आरोप लगाए।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफ्ना श्रमदातामाथि दुर्व्यवहार भएको दाबी गरेका छन्। उनले समर्थकलाई संयमित रहन आग्रह गर्दै घटनालाई शान्तिपूर्ण ढंगले सामना गर्न अपिल गरेका छन्।
घटनापछि जानकी मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको छ।