काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क समयमै बुझाउन सम्पूर्ण लगानीकर्तालाई आग्रह गरेको छ। कम्पनीले आर्थिक वर्ष समाप्त हुनुअघि सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत वार्षिक शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको हो।
सीडीएससीका अनुसार तोकिएको समयभित्र वार्षिक नवीकरण शुल्क नतिर्ने लगानीकर्ताको हितग्राही (डिम्याट) खाता सम्बन्धित निक्षेप सदस्यले रोक्का गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। खाता रोक्का भएपछि शेयर किनबेच, हस्तान्तरण तथा अन्य डिम्याटसम्बन्धी सेवामा समस्या आउन सक्ने भएकाले समयमै शुल्क तिर्न कम्पनीले अनुरोध गरेको छ।
लगानीकर्तालाई सहजता प्रदान गर्ने उद्देश्यले असार मसान्तसम्म बुझाउनुपर्ने वार्षिक शुल्क नतिरेकाहरूका लागि 'मेरो सेयर' सेवा साउन १५ गतेसम्म सञ्चालनमा राखिएको सीडीएससीले जनाएको छ।
तर, साउन १६ गतेदेखि वार्षिक शुल्क नबुझाएका सबै हितग्राही (डिम्याट) खाता रोक्का गरिने कम्पनीले स्पष्ट पारेको छ।
सीडीएससीले अनावश्यक झन्झटबाट बच्न तथा शेयर कारोबारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित डीपी कार्यालयमार्फत यथाशीघ्र वार्षिक नवीकरण शुल्क बुझाउन सबै लगानीकर्तालाई आग्रह गरेको छ।
