काठमाडौं । देशभर पन्छीमा फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण अहिले नियन्त्रणको चरणमा पुगेको छ। साउन १ गतेयता नयाँ संक्रमण पुष्टि नभएको भन्दै पशु सेवा विभागले रोग नियन्त्रणतर्फ उल्लेखनीय प्रगति भएको जनाएको छ। संक्रमण घटेसँगै कुखुराको मासु र अण्डाको बजार पनि क्रमशः सामान्य बन्दै गएको छ, जसले किसानमा राहतको आशा जगाएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल का अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१, सुन्दरीजल मा संक्रमण देखिएपछि नयाँ केस पुष्टि भएको छैन। अहिले संक्रमण देखिएका क्षेत्र वरपरबाट नमुना संकलन गरी परीक्षण गर्ने काम निरन्तर भइरहेको छ।
उनले भने, “अहिले अवस्था नियन्त्रणमा छ। संक्रमण देखिएका क्षेत्रका वरपरबाट नमुना ल्याएर नियमित परीक्षण गरिरहेका छौँ।”
विभागका अनुसार चैत ४ गते पीसीआर परीक्षणमार्फत पहिलो पटक बर्डफ्लु पुष्टि भएको थियो भने चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। पहिलो संक्रमण मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा देखिएको थियो। त्यसपछि कमर्सियल लेयर्स, प्यारेन्ट बर्ड, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिजमा समेत संक्रमण फैलिएको थियो।
हालसम्म ११ जिल्लामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५ (सदर चिडियाखाना सहित), भक्तपुरमा ४५ तथा काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।
संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गर्नुपरेको थियो।
सरकारले प्रभावित किसानलाई राहत वितरण पनि तीव्र बनाएको छ। महानिर्देशक दाहालका अनुसार राहतका लागि रु. ५२ करोड व्यवस्थापन गरिएकोमा हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकलाई रु. ५० करोड ७१ लाख १५ हजार ७०४ निकासा गरिसकिएको छ।
देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाबाट नियमित परीक्षण जारी रहेको र सरकारको सक्रियता तथा किसानको सहकार्यका कारण संक्रमण नियन्त्रणमा आउन सफल भएको विभागको निष्कर्ष छ। संक्रमण घटेसँगै बजारमा कुखुराको मासु र अण्डाको माग बढ्न थालेको छ भने लामो समय मूल्य घटेर समस्यामा परेका किसानले पनि पुनः उचित मूल्य पाउन थालेका छन्। बर्डफ्लुको जोखिम न्यून हुँदै गएसँगै पोल्ट्री व्यवसाय क्रमशः पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।