ललितपुर । अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) द्वारा सञ्चालित देशव्यापी पाँच वर्षे "अनुपम अभियान" अन्तर्गत आज ललितपुरको पाटनढोकामा सचेतनामूलक कोण सभा सम्पन्न भएको छ।
वि.सं. २०७६ मा स्थापना भएको IGFF एक अनौपचारिक, साझा, स्वयंसेवी र स्वतन्त्र महिलावादी सञ्जाल हो, जसमा हाल नेपालका ७७ वटै जिल्लाका हजारौं महिलावादीहरू आबद्ध छन्। आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन भइरहेको "अनुपम अभियान" टेवाको कानुनी तथा आर्थिक संरक्षणमा अघि बढिरहेको छ। अभियानको उद्देश्य राज्यका सबै तहमा महिलाको समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नु, समावेशी तथा समानतामूलक समाज निर्माणमा योगदान पुर्याउनु तथा नेपालको विकासलाई आत्मनिर्भर र सम्मानजनक बनाउने अभियानलाई सुदृढ गर्नु रहेको छ।
आजको कार्यक्रममा प्रतिनिधिमूलक संघ–संस्थामा क्रियाशील महिलाहरू, विभिन्न तहका जनप्रतिनिधि महिलाहरू, महिला अधिकारकर्मी तथा स्थानीय समुदायका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा महिलाको नेतृत्व विकास, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, लैङ्गिक समानता, सामाजिक समावेशिता तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा अभियानको मूल भावना "संयम, सक्रिय र संगठित" रहेको उल्लेख गर्दै सकारात्मक अभिव्यक्ति, बिना दोषारोपण संवाद, महिलाको पक्षमा स्पष्ट प्रतिबद्धता, सीमान्तकृत समुदायप्रति ऐक्यबद्धता तथा सम्मानजनक सामाजिक व्यवहारलाई अभियानको आधारभूत मूल्यका रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो







