बुटवल । प्रारम्भिक बालविकास शिक्षालाई गुणस्तरीय, प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले पूर्वप्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरूका लागि १० दिने ‘अर्ली लर्निङ एन्ड डेभलपमेन्ट स्ट्यान्डर्ड्स (ईएलडिएस)’ सम्बन्धी तालिम बुटवलमा शनिबारदेखि सुरु भएको छ।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स (अपेन) लुम्बिनी प्रदेश र युनिसेफको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब तीन दर्जन पूर्वप्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको छ। तालिमले बालबालिकाको उमेरअनुसारको सिकाइ, समग्र विकास र व्यवहारिक शिक्षण पद्धतिलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
अपेन लुम्बिनी प्रदेशकी अध्यक्ष सरस्वती ढुङ्गानाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा हिसानका केन्द्रीय सदस्य दिनेश भुसाल, होराइजन माध्यमिक विद्यालयका प्राचार्य बासुदेव अर्याल तथा सैनिक महाविद्यालयका प्राचार्य डोलराज भण्डारीले प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सहभागी शिक्षकहरूले सिकेका ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन अपेन लुम्बिनी प्रदेशकी महासचिव लक्ष्मी पोखरेल भुसालले गर्नुभएको थियो भने संयोजन कोषाध्यक्ष नितु श्रेष्ठले गर्नुभएको थियो।
तालिममा सेतो गुराँस बाल विकास सेवा, कपिलवस्तुका प्रशिक्षक अनिता शर्मा र भगवती थापाले सहजीकरण गरिरहनुभएको छ। तालिम अवधिभर सहभागी शिक्षकहरूलाई ईएलडिएसको अवधारणा, बालकेन्द्रित शिक्षण विधि, खेलमार्फत सिकाइ, समावेशी शिक्षा, बाल मूल्याङ्कन तथा कक्षाकोठा व्यवस्थापनलगायत विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस तालिमले पूर्वप्राथमिक तहका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइ उपलब्धि र समग्र विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।